हेटौँडा, जेठ ३० गते ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १० राप्तीरोडस्थित दास इम्पोरियमका संचालक विन्दल दासमाथि आक्रमणको घटनामा संलग्न हेटौँडा उपमहानगरपालिका १२ पदमपोखरीका विजय थिङलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले निज ३५ वर्षीय थिङलाई ज्यान मार्ने उद्योग कसुर मुद्धामा थप अनुसन्धान कार्य भई रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार ६१ वर्षीय दासलाई कपडा खरिद गर्न आएका थिङ लगायत केही व्यक्तिहरुको समुहले कपडा खरिद गर्ने क्रममा कपडाको मूल्य बढी भयो भन्दै अश्लिल शब्द प्रयोग गरी बाद बिबाद गर्नुका साथै कपडा संचालकको टाउकोमा काठको बेलना प्रहार गरी गहिरो चोट बनाई घाईते बनाएका थिए ।

उक्त घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटनाका मुख्य व्यक्ति थिङलाई पक्राउ गरिएको भन्दै प्रहरीले उक्त घटनामा संलग्न अन्य व्यक्तिहरुको पहिचान गरी खोजी कार्य भईरहेको जनाएको छ ।




