राक्सिराङ पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा

लोकप्रिय

हेटौँडा, असार ७ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरिएको छ ।

घोषणा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संस्थाहरूलाई विशेष सम्मान तथा वडाहरुलाई खोप पूर्णताको प्रमाणपत्र वितरण गरिएको थियो।

“गाउँपालिकामा १६–२३ महिनाका सबै बालबालिकाहरूले पाउनुपर्ने सबै खोप प्राप्त गरेका छन्। यो सफलता हाम्रो स्वास्थ्यकर्मीहरू, स्वयंसेविकाहरू, अभिभावक तथा सबै सरोकारवालाको अथक परिश्रम र सहकार्यको नतिजा भएको गाउँपालिका अध्यक्ष राज कुमार मल्लले बताउनुभयो।,”

गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, स्वास्थ्य कार्यालय मकवानपुरको जनस्वास्थ्य अधिकृत दिलेन्द्र बुढा मगर र निरीक्षक बासुदेव रिमालले पनि स्वास्थ्य सेवाको पहुँच र गुणस्तर वृद्धिका लागि विभिन्न योजना अघि सार्ने जानकारी दिनुभयो ।

प्रशासकीय प्रमुख अधिकृत पदम बहादुर बस्नेतले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा हासिल गरेको यो ऐतिहासिक उपलब्धि सबैको एकजुट प्रयासको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा पनि अझ प्रभावकारी सेवा प्रवाह गर्न प्रशासनिक तर्फबाट सम्पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

बुधबार भएको कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले आगामी दिनमा पनि नियमित सचेतना, निगरानी र साझेदारीलाई प्राथमिकतामा राख्दै खोप कार्यक्रमलाई अझै सशक्त बनाइने छ भन्नुभयो ।

ताजा समाचार

Related Articles