हेटौँडा, असार ७ गते । हेटौँडा उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्र बसोबास गर्ने अपाङ्गता भएकाहरुलाई लक्षित गरी उत्पादनसँग जोड्न सहयोग गरेको छ ।

आयआर्जका लागि अपाङ्गता भएका परिवारको कृषि व्यवसाय प्रवर्धनका लागि उपमहानगरले सहयोग गरेको हो ।
अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको अपाङ्ग सरोकार केन्द्रसँगको समन्वयमा उपमहानगर क्षेत्रमा रहेका अपाङ्गता भएका ३३ जनाको परिवारलाई शुक्रबार बाख्रा, बंगुर र महुरीघार प्रदान गरिएको छ ।

कृषि व्यवसाय प्रवर्धन कार्यक्रम अन्तर्गत उपमहानगरका नगरप्रमुख मीनाकुमारी लामाले २६ परिवारलाई बाख्रा, पाँच परिवारलाई माहुरीको घार र दुई परिवारलाई बंगुर हस्तान्तरण गर्नुभयो ।
नगर प्रमुख लामाले व्यवसाय प्रवर्धनका लागि बिउँ पुजीको रुपमा उपमहानगरले सहयोग गरेको भन्दै यसले व्यवसाय बिस्तारको लागि सहयोग पुग्ने र अब दिगो आय हुने गरी काम गर्न सुझाउनुभयो । उहाँले भन्नुभयो बिउलाई मास्ने होइन बिस्तार गर्दै लैजानुपर्छ ।

कार्यक्रममा अपाङ्ग सरोकार केन्द्रका अध्यक्ष गणेशचन्द्र दवाडीले ९६ वटा बाख्रा, २० वटा बंगुर, ११ वटा माहुरी घार र चार वटा गोठ निर्माणका लागि अनुदान प्राप्तभएको जानकारी दिनुभयो ।

कृषि व्यवसायको सुधार गर्दै दिगो आर्यआर्जनमा जोड्न सहयोग गर्ने कार्यक्रम अन्तर्गत उपमहानगरले ५० प्रतिशत अनुदान दिएको छ ।




