रुपचन्द्र विष्ट ‘रुदाने’ प्रति श्रद्धान्जलि व्यक्त

लोकप्रिय

हेटौँडा, असार ७ गते । थाहा नगरपालिकाको आयोजनामा थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्ट ‘रुदाने’ को सम्झना गरिएको छ । मकवानपुरको थाहा नगरपालिकास्थित विकास घर परिसरमा रहेकोे रुदानेको सालिकमा शनिबार एक कार्यक्रमको आयोजना गरी माल्यार्पण गर्दै उहाँप्रति श्रद्धान्जलि व्यक्त गरिएको हो ।

थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बिष्टको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरूले रुपचन्द्र विष्टले सामाजिक राजनीतिक क्षेत्रमा गरेको योगदान स्मरण गर्दै “श्रमलाई प्राथमिकता दिन सक्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली भएको बताउनुभएको थियो ।

साथै रुपचन्द्र विष्टको जीवन र विचार आज पनि सान्दर्भिक रहेको वक्ताहरुको भनाई थियो ।
कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, स्थानीय स्मारक समितिका अध्यक्ष बिमल कुमार विष्ट, जिल्ला बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष बिमलकुमार ढकाल, माओवादी केन्द्र, जिल्ला समन्वय समिति सदस्य अरुण रायमाझी, जनमुखी सहकर्मी ज्योति रायमाझीलगायतका वक्ताहरूले रुपचन्द्र विष्टको राजनीतिक, सामाजिक योगदान र थाहा दर्शनको महत्वमाथि चर्चा गर्नुभएको थियो ।

यसैबिच रुदानेको २६औँ स्मृति दिवसको अवसरमा हेटौँडाको थाहाचोकमा शनिबार साँझ दीप प्रज्वलन कार्यक्रम गरिएको छ । रुपचन्द्र विष्ट स्मारक समिति नेपाल र नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान हेटौँडाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य रामनारायण बिडारीले निष्पक्ष सक्रियताको अभ्यासलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो । संविधानसभा सदस्य प्रल्हाद लामिछानेले रुपचन्द्र विष्ट सबैको साझा ब्यक्तित्व भएको बताउनुभयो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देल, वडा नम्बर १० का वडा सदस्य ईश्वरप्रसाद मैनाली, नेपाल अडिटर्स एसोसिएसनका प्रतिनिधि प्रकाश ढकाल, अखिल क्रान्तिकारी मकवानपुरका अध्यक्ष बुद्धराज अर्याललगायतको उपस्थिति थियो।

वि.सं. १९९० साल पुस २७ गते जन्मनुभएका रुपचन्द्र विष्ट नेपाली समाज रूपान्तरणका लागि जनमुखी सहकर्मीको रूपमा चिनिनु हुन्थ्यो । ’रुप’, ’रुपे’, ’रुदाने’, ’रापसरु’, ’जसरु’ जस्ता नामले परिचित उहाँ “थाहा आन्दोलन” मार्फत जनचेतना फैलाउने कार्यमा सक्रिय रहनुभएको थियो ।
उहाँको निधन वि.सं. २०५६ साल असार ७ गते भएको थियो

ताजा समाचार

Related Articles