हेटौँडा, असार ७ गते । मकवानपुर थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷०८३ नीति तथा कार्यक्रम पारित भएको छ ।

पालिकाको शनिबार थाहा नगरमा भएको सभाको १८ औँ अधिवेशनबाट नीति तथा कार्यक्रम पारित भएको हो ।
थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्ट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सार्वजनिक खर्चमा मितव्ययिता, पुँजीगत खर्च वृद्धि, गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रणमा जोड दिइएको बताउनुभयो ।

‘उत्पादन र रोजगारी वृद्धि, आर्थिक सामाजिक विभेदको अन्त्य, गरिवी निवारण, समावेशी विकास, आरोग्य थाहा नगर निर्माण, शान्ति प्रक्रियाको तार्किक निष्कर्ष प्रमुख नीतिगत प्राथमिकता हुनेछ’, विष्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भन्नुभयो ।

नगरपालिकालाई आर्थिक सम्पन्न गराउनेप्रति केन्द्रित हुँदै अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहन स्वरुप कृषि बस्तुको प्रमाणीकरण र ब्राण्डिङ गरी बजारीकरण गर्न सहजीकरण गर्नेमा जोड दिइएको भन्दै उहाँले नीति तथा कार्यक्रमको आधारमा आगामी आवको वार्षिक बजेट आउने बताउनुभयो ।

साथै फलफूल, तरकारी, मासु, अण्डा, दुध, किबी लगायतका खेतीलाई प्रोत्साहन गरी नगरलाई आत्मनिर्भर बनाउने नीति नगरपालिकाले लिएको छ ।




