हेटौँडा, असार ७ गते । मकवानपुरको बागमती गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गरिएको छ । शनिबार गाउँपालिकाको झुरझुरेमा भएको दोस्रो गाउँसभाको सातौँ अधिवेशनमा नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत भएको हो ।

गाउँसभामा गाउँपालिकाका अध्यक्ष सर्केश घलानले प्रस्तुत गर्नुभएको वार्षिक नीति तथा कार्यक्रममा बागमती–८ स्थित जनता माविमा बहुमुखी क्याम्पस सञ्चालन गर्ने, वडा वडाबाट सामाजिक सुरक्षाभत्ता वितरण गर्ने र एकल पुरुषलाई भत्ता दिने उल्लेख छ ।

यस्तै गाउँपालिकाका स्थायीयबासी, जनप्रतिनिधि र सरकारी कर्मचारीहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने नीति ल्याउँदै यदि भर्ना नगरेमा तलब र सेवा सुविधाबाट १० प्रतिशत शैक्षिक कर तिर्नुपर्ने नीति तथा कार्यक्रममा भनिएको छ ।

गाउँसभामा गाउँपालिका उपाध्यक्ष फनिन्द्र कुमार तिमल्सिनाले आगामी आर्थिक वर्षका लागि ८३ करोड ७२ लाख ६७ हजार ६७४ रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो । गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि सामाजिक विकास क्षेत्रमा कुल बजेटको आधा बजेट विनियोजन गरेको छ । सामाजिक क्षेत्रका लागि ४२ करोड रुपियाँ बजेट विनियोजन गरिएको हो ।

यस्तै पूर्वधार विकासका लागि १७ करोड, कार्यालय सञ्चालन तथा प्रशासनिकका लागि १२ करोड २६ लाख, वातावरण तथा विपद् व्यवस्थापनका लागि एक करोड १६ लाख, आर्थिक विकासका लागि पाँच करोड ४३ लाख र सुशासन तथा संस्थागत विकासका लागि चार करोड ५४ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेट रकम आर्थिक वर्ष २०८१/८२ को भन्दा १२ करोड रुपियाँले बढी हो । गाउँपालिकाले चाल आवका लागि ७१ करोड ६८ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो ।




