हेटौँडा, असार २७ गते ।
हेटौँडा उपमहानगरपालिकाको नगर सभाको अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरेको छ ।
नगर सभाको शुक्रबार बसेको अधिवशेनले आगामी दुई अर्ब ९० लाख तीन हजार रुपियाँ बराबरको बजेट पारित गरेको हो ।
यही असार १० गते बसेको उपमहानगरपालिकाको नगरसभाको १७ औँ अधिवेशनमा उपप्रमुख राजेश बानियाँले बजेट प्रस्तुत गर्नुभएको थियो ।
आगामी आवको बजेटको खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक आयबाट ६२ करोड ७६ लाख ८० हजार रुपियाँ, राजस्व बाँडफाँटबाट ९२ करोड ७० लाख ५५ हजार रुपियाँ र बाँकी संघ र प्रदेशबाट अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै नगर विकास कोषको ऋणबाट तीन करोड ६० लाख रुपियाँ स्रोत व्यवस्थापन गर्ने बजेटमा व्यवस्था गरिएको छ ।
हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले नगर सभाको अधिवेशनले विनियोजन विधेयक र आर्थिक विधेयक पारित गरेसँगै आगामी साउन १ गतेबाट उपमहानगरलाई बजेट खर्च गर्ने बाटो खुलेको बताउनुभयो ।
आगामी आवका लागि कार्य सञ्चालन तथा प्रशासनिक खर्च व्यवस्थापनका लागि ५९ करोड ६५ लाख ९० हजार र सुशासन तथा संस्थागत विकासतर्फ तीन करोड ८९ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।
