हेटौँडा, असोज ३१ गते । बागमती प्रदेश सरकारले काठमाडौँको थानकोटस्थित त्रिभुवन पार्कमा अतिक्रण र अनधिकृत संरचना रोक्न रोक्न शहिद स्मारक प्रकृति प्रतिष्ठान थानकोटलाई निर्देशन दिएको छ ।
प्रतिष्ठान अन्तर्गत रहेको त्रिभुवन पार्क क्षेत्रभित्र पछिल्लो समयमा अतिक्रमण, अनियमितता, अव्यवस्था र अवैध रुपमा संरचना निर्माण हुन थालेपनि प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले प्रतिष्ठानलाई यस्तो निर्देशन दिएको हो ।
पार्कको क्षेत्रफलभित्र यस मन्त्रालयको अनुमति बिना अनधिकृत रुपमा संरचना बनाउँदै गरेको तथा पार्कको जग्गा हिनामिना तथा अतिक्रमण भइरहेको जनगुनासोपछि कुनै अवैध संरचना निर्माण गर्न लागिएको भए, सो कार्य तत्काल रोक्न मन्त्रालयले प्रतिष्ठानलाई भनेको छ ।
मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले मन्त्रालयको व्यवस्थापन जिम्मामा आएको त्रिभूवन पार्कमा रहेका सम्पत्तिको संरक्षण गर्ने सम्बन्धी निर्णय कार्यान्वयनका लागि प्रतिष्ठानलाई मन्त्रालयबाट यसअघि पनि पटक पटक आग्रह गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघिका आग्रहलाई समेत अटेर गरेपछि निर्देशन दिनुपर्ने अवस्था आएको हो ।
नेपाल सरकार (मन्त्रीपरिषद्) को २०७५ चैत ४ गतेको निर्णय र उच्च अदालत पाटनको २०७८ मंसिर २९ गतेको फैसला एवं बागमती प्रदेश सरकार (मन्त्रीपरिषद्) को गत वर्षको जेठ २ गतेको निर्णय अनुसार उक्त प्रतिष्ठान प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको व्यवस्थापन जिम्मामा आएको छ ।
स्थानीय तह र प्रदेश सरकारको साझेदारी तथा समन्वयमा उक्त पार्कको सञ्चालन तथा व्यवस्थापन गर्ने गरी प्रकिया अघि बढाइएको भन्दै सचिव सुवेदीले हाललाई पार्कको सञ्चालन तथा व्यवस्थापनका सम्पूर्ण कामकारवाही रोकी सो को जानकारी मन्त्रालयलाई दिन पत्राचार गरिएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र चन्द्रागिरि नगरपालिकालाई आवश्यक सहयोग तथा समन्वयका लागि अनुरोध गरिएको छ उहाँले भन्नुभयो, पार्कको क्षेत्रभित्र मन्त्रालयको अनुमति बिना अनधिकृत रुपमा संरचना बनाउँदै गरेको तथा पार्कको जग्गा हिनामिना तथा अतिक्रमण भइरहेको जनगुनासो आएको हुँदा अतिक्रमण रोक्न सार्वजनिक रुपमा आग्रह गरेका छौँ ।
मन्त्रालयले सार्वजनिक सूचनासमेत प्रकाशित गरी कुनै पनि अवैध संरचना निर्माण गर्न लागिएको भए, सो कार्य तत्काल नगर्न तथा नगराउनहुन सरोकारवालाहरुलाई भनेको छ ।
साथै मन्त्रालयको अनुमति वेगर कोही कसैबाट अवैध संरचना निर्माण र अतिक्रमणका गतिविधिहरु भएको वा हुन गएमा कानून अनुसार सजायको भागिदार स्वयम्नै हुने तथा कानून अनुसार क्षतिपूर्ति समेत असुलउपर गरिने सूचनामा उल्लेख छ ।
काठमाडौँ जिल्ला चन्द्रागिरि नगरपालिकाको वडा नम्बर ३, ४ र ७ मा फैलिएको त्रिभुवन पार्कको व्यवस्थापनको जिम्मेवारी शहीद स्मृति प्रकृति प्रतिष्ठानले लिँदै आएको छ ।




