हेटौँडा, पुस १९ गते । सुप्रसिद्ध गायिका कुन्ती मोक्तान मातृभूमि सङ्गीत पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
मातृभूमि साहित्य समाज, हेटौँडाले हेटौँडामा शनिबार आयोजना गरेको कार्यक्रममा नित्य गोविन्द स्मृति–मातृभूमि सङ्गीत पुरस्कार २०८१ बाट मोक्तानलाई सम्मान गरेको हो ।

वरिष्ठ साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतमले नेपाली गीत सङ्गीतको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत २५ हजार रुपियाँ राशिको उक्त पुरस्कारबाट कार्यक्रममा मोक्तानलाई सम्मानित गर्नुभएको थियो ।
कार्यक्रममा समाजले मातृभूमि राष्ट्रिय पुरस्कार–२०८१ बाट वरिष्ठ साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतमलाई समेत सम्मान गरेको थियो । गौतमलाई २५ हजार रुपियाँ राशिको पुरस्कारसहित सम्मान गरिएको थियो ।

यस्तै कार्यक्रममा २१ हजार रुपियाँ राशिको मायादेवी मातृभूमि पुरस्कार–२०८१ बाट नियात्राकार भवानी खतिवडा, १५ हजार रुपियाँ राशिको श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कारबाट युवा कवि रोशन परियारलाई र १० हजार रुपियाँ राशिको शारदा उप्रेती स्मृति मातृभूमि सम्मान–२०८१ बाट कला साधक जीवन केसीलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा समाजले हरेक वर्ष प्रदान गर्दै आएको मकवानपुर श्री सम्मान–२०८२ बाट सामाजिक अभियन्ता विश्व कान्ति कलावतीलाई सम्मानित गरिएको थियो ।




