काठमाडौँ, फागुन ४ गते । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ को निर्वाचन परिणाम राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेता चयन प्रक्रियामा प्रवेश गर्ने तयारी गरिएको छ। निर्वाचन आयोगले भोलि समानुपातिकतर्फका सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय गरेको छ। उक्त कार्यक्रम सम्पन्न भएपछि भोलि नै राष्ट्रपतिलाई निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाउने तयारी गरिएको आयोगले जनाएको छ। राष्ट्रपतिलाई प्रतिवेदन बुझाइसकेपछि पार्टीले संसदीय दलको नेता चयन प्रक्रियाका लागि आवश्यक कार्य अघि बढाउने रास्वपाका नवनिर्वाचित सांसद तथा केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले नेपाल टिभी अनलाइनलाई जानकारी दिनुभयो।

“निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणामको प्रतिवेदन बुझाएपछि पार्टीले संसदीय दलको नेता चयनका लागि आवश्यक प्रक्रिया सुरु गर्छ,” परियारले भन्नुभयो। रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्था उल्लेख छ। सोही धाराको उपधारा ८ (ख) मा संसदीय दलको नेता चयन गर्दा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू समेत मतदाता हुन पाउने प्रावधान रहेको छ। यही व्यवस्थालाई परिवर्तन गर्ने वा नगर्ने विषयमा रास्वपा भित्र छलफल सुरु भएको छ। साधारण सदस्यलाई मताधिकार दिई संसदीय दलको नेता चयन गर्ने विधि व्यवहारिक रूपमा कार्यान्वयन गर्न कठिन हुने देखिएकाले विधान संशोधनको बहस उठेको हो।

निर्वाचनअघि रास्वपा र काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह समूहबीच एकता हुँदा रास्वपाको सभापति रवि लामिछाने रहने र प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाहलाई बनाउने सहमति भएको थियो। सोही सहमतिअनुसार बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा रास्वपा संसदीय दलको नेता बनाउने तयारी रहेको छ। निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसार सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार नै प्रमाणपत्र प्रदान गर्ने तयारी पूरा भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो। समानुपातिक निर्वाचनतर्फ रास्वपाबाट ५७ सांसद निर्वाचित भएका छन्। यसैगरी नेपाली कांग्रेसबाट २०, नेकपा (एमाले) बाट १६, नेकपा (माओवादी केन्द्र) बाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ४/४ जना सांसद निर्वाचित भएको आयोगले घोषणा गरिसकेको छ। पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ रास्वपा १२५, कांग्रेस १८, एमाले ९, नेकपा ८, श्रम संस्कृति पार्टी ३, राप्रपा र स्वतन्त्र १/१ स्थानमा विजयी भएका छन्। पहिलो हुने निर्वाचित हुने प्रणालीबाट १६५ र समानुपातिक प्रणालीबाट ११० गरी प्रतिनिधिसभामा कुल २७५ जना सांसद निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ।




