काठमाडौँ, चैत ७ गते । उज्यालो नेपाल पार्टीले जेनजी आन्दोलनको घटना जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग राखेको छ ।

पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर जाँचबुझ आयोग प्रतिवेदन सार्वजनिक गर्ने लगायत विभिन्न माग पत्र प्रस्तुत गरेको हो । यस्तै पार्टीले सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन गरेको छ।

‘चुनौतीपूर्ण परिस्थितिमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराई मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने गहन दायित्व पूरा गर्नुभएकोमा सम्माननीयज्यूलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौं,’ अध्यक्ष घिसिङले भन्नुभयो, ‘म हारे पनि देशले जितेको छ। तपाईँको नेतृत्वमा देशले सेफल्यान्डिङ पाएको छ। यसैमा खुसी छु। यति महत्त्वपूर्ण इतिहासको घडीमा मैले पनि केही समय यस सरकारमा रहेर काम गर्न पाएँ। अब संसदमा नभए पनि बाहिरै बसेर देशका निम्ति काम गर्छु।’ प्रधानमन्त्री कार्कीले उज्यालो नेपाल पार्टीले निर्वाचनमा भाग लिएर यस प्रक्रियालाई सघाएको भन्दै उच्च सह्राहना गर्नुभयो। यस्तै यस सरकारको सफलताका लागि घिसिङले खेल्नुभएको प्रभावकारी भूमिकाको पनि प्रशंसा गर्नुभयो।




