काठमाडौँ, भदौ ४ गते । जापानिज इन्सेफ्लाइटिसका कारण सप्तरी र कैलालीमा गरी चार जनाको मृत्युभएको छ ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका–३ का १४ वर्षीय शिवकुमार रामको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत शतिश यादवले जानकारी दिनुभयो ।

दुवै जनाको गत साउन २१ गते उपचारका क्रममा मृत्यु भएको थियो । यादवको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र रामको गोल्डेन हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको बताउँदै स्वास्थ्य अधिकृत यादवले जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा अन्य तीन जना बिरामी भएका जानकारी दिनुभयो । बिरामीहरू उपचारपछि घर फर्किसकेका जनाउँदै उहाँले तीमध्ये दुई जनाको मृत्यु भएको उल्लेख गर्नुभयो ।

स्वास्थ्य अधिकृत यादवले साँझपख घर बाहिर ननिस्कने, खेतबारीमा काम गर्दा लामो बाउला भएका लुगा लगाउने, सुत्ने बेला झुलको प्रयोग गर्नेलगायत गरेमा लामखुट्टेको टोकाइबाट बच्न सकिने धारणा राख्नुभयो ।

यसैबीच, कैलालीको घोडाघोडी नगरपालिकामा पनि जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । उपचारका क्रममा घोडाघोडी–४ र ९ का दुई जनाको मृत्यु भएको नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा ३४ र ७० वर्षीया महिला छन् ।




