बागमतीमा सात सदस्यीय मन्त्रीपरिषद् गठनः छ मन्त्रीले लिए सपथ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ४ गते । बागमती प्रदेशमा नेकपा एमालेका प्रदेश सभा सदस्य किरण थापा मगरको नियुक्तिसँगै सात सदस्यीय मन्त्रीपरिषद् गठन गरिएको छ ।
बागमती प्रदेशका प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार नियुक्त गर्नुभएका मुख्यमन्त्री थापाले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
प्रदेश प्रमुख देवकोटाले प्रदेश प्रमुखको कार्यालय परिसरमा बिहीबार अपरान्ह आयोजित कार्यक्रममा नवनियुक्त मुख्यमन्त्री थापालाई सपथ ग्रहण गराउनुभएको हो ।
थापा बागमती प्रदेशको सातौँ मुख्यमन्त्री हुनुहन्छ ।
मुख्यमन्त्री थापाको सिफारिशमा प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम
मन्त्रीपरिषद् गठन तथा कार्यविभाजन गर्नुभएको छ । एक जन बिना विभागीयसहित सात सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ ।
बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित आठ वटा मन्त्रालय रहेकोमा एमालेले मुख्यमन्त्रीसहित तीन वटा मन्त्रालय, नेकपाले दुई वटा मन्त्रालय र राप्रपाले तीन वटा मन्त्रालय लिने सहमति गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा नेकपाबाट एक, एमालेबाट दुई र राप्रपाबाट तीन जना मन्त्रीलाई मुख्यमन्त्री थापाको उपस्थितिमा सपथ ग्रहण गराइएको थियो ।
नवगठित मन्त्रीपरिषद्मा राप्रपाबाट गिरबहादुर तामाङले स्वास्थ्य तथा सामाजिक मन्त्रालय, राजेन्द्र प्रजापतिले उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र राजु विष्टले खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय, एमालेबाट मन्त्री बन्नुभएका भरतबहादुर केसीले भौतिक पूर्वाधार विकास मन्त्रालय र नेकपामा सरल सहयात्री पौडेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
एमालेबाट मन्त्री बन्नुभएका बिना विभागीय मन्त्री ज्ञानबहादुर तामाङको मन्त्रालय पछि तोकिनेभएको छ ।
तीन दलबिचको भागबण्डा अनुसार नेकपाबाट थप एक मन्त्री नियुक्त हुन बाँकी रहेको छ ।
मुख्यमन्त्री थापाले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय आफैले राख्नुभएको छ ।
यसअघि बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटाले नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले भदौ १ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै भदौ १ गतेनै सरकार गठनका लागि दाबी पेस गर्न आव्हान गर्नुभएको थियो ।
नेकपा, एमाले र राप्रपाको समर्थनमा थापाले बुधबार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गर्नुभएको थियो ।
एमालेका थापालाई सरकार निर्माणमा समर्थन गरेको प्रति राप्रपाको संसदीय दलदेखि केन्द्रीय समितिसम्मले असहमति जनाएको छ ।
थापा यसअघि कांग्रेस नेतृत्वको सरकारमा दुई पटक साविकको स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहनुभएको थियो । थापा भक्तपुर २(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

ताजा समाचार

Related Articles