हेटौँडा, भदौ ४ गते । बागमती प्रदेश सरकारले प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकलाई ई–क्याबिनेट प्रणाली लैजाने भएको छ ।
प्रदेश सरकारको बिहीबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले मन्त्रीपरिषद्को बैठकलाई आधुनिक र प्रविधिमैत्री बनाउन ‘ई–क्याबिनेट’ प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
बागमती सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीले मन्त्रिपरिषद्का बैठकहरू कागजविहीन (पेपरलेस) गर्न आवश्यक कार्यविधि १५ दिनभित्र तयार गर्ने बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।
मन्त्रीपरिषद बैठकले प्रदेश सरकारको प्रवक्तामा भौतिक पूर्वाधार विकास मन्त्री भरतबहादुर केसी जिम्मेवारी दिने निर्णय गरेको छ ।
बैठकले प्रदेश सरकारद्वारा सञ्चालित आयोजनाहरूको वित्तीय र भौतिक प्रगतिको विवरण ‘रियल टाइम’ मा अनुगमन गर्न आयोजना ट्रयाकिङ प्रणाली विकास गर्ने र निर्णय गरेको छ ।
मन्त्री केसीका अनुसार बैठकले चालू आर्थिक वर्ष २०८१÷८२ को नीति, कार्यक्रम र बजेटलाई निर्धारित समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न मुख्यमन्त्री र मन्त्रीहरूबिच तथा मन्त्री र सचिवहरूबिच कार्यसम्पादन करार सम्झौता गर्ने निर्णय बैठकले गरेको बताउनुभयो ।
बैठकले बजेट र कार्यक्रम कार्यान्वयनका लागि आवश्यक पर्ने नीति, नियम र कार्यविधिहरू सात दिनभित्र तयार पारी मुख्यमन्त्री कार्यालयमा पेस गर्न सबै मन्त्रालयहरूलाई निर्देशन दिर्ने निर्णय गरेको छ ।
मन्त्री केसीका अनुसार प्रदेशका मन्त्रालयहरूमा हाल सञ्चालनमा रहेका विद्युतीय प्रणालीहरूको विवरण सात दिनभित्र सङ्कलन गर्ने, सरकारलाई आवश्यक पर्ने प्रणालीहरू अब आफैले आन्तरिक रूपमै उत्पादन गर्ने गरी कार्यविधि तयार गर्ने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको छ । यस्तै मुख्यमन्त्री र मन्त्रीहरुले पदभार ग्रहण गनुभएको छ ।




