राष्ट्रिय कविता प्रतियोगितामा कवि मञ्जिल प्रथम

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ७ गते । मकवानपुरका साहित्यकार, शिक्षासेवी एवं समाजसेवी तुल्सी थापाको स्मृतिमा आयोेजित राष्ट्रिय कविता प्रतियोगितामा जुम्लाका कवि हेमप्रकाश मञ्जिल प्रथम हुनुभएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिकाको आयोजना तथा बुढ्यौली साहित्य समाज मकवानपुरको व्यवस्थापनमा आइतबार भैँसेस्थित कृष्ण माविको परिसरमा भएको राष्ट्रिय कविता प्रतियोगिता तथा प्रतिमा अनावरण कार्यक्रममा अन्तिम छनोटमा परेका १० मध्येबाट मञ्जिलको कविता उत्कृष्ट हुँदै ५० रुपियाँ राशिको पुरस्कार प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा सर्लाहीका कवि सुमन घिमिरे दोस्रो, झापाका कवि युवराज पौडेल तेस्रो तथा कञ्चनपुरका कवि धिरज नाथ र काठमाडौँकी चेतना शर्मा सान्त्वना हुँदै पुरस्कार प्राप्त गर्नुभयो ।
बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगितामा द्वितीय हुनेलाई ३० हजार, तृतीयलाई २० हजार र प्रोत्साहन पुरस्कार दुई जनालाई जनही १० हजार रुपियाँसहित गाउँपालिकाका अध्यक्ष लामालगायतले प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा ४९२ जना रचना प्राप्त भएकामध्ये अन्तिचरणमा १० कविताका कविलाई वाचनका लागि छनोट गरिएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने कविहरुलाई भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, डा. गणेश लामा, बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजाललगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार एवं कवि श्रवण मुकारुङलगायतका स्रष्टाहरुले रचना वाचन र साहित्यकार थापाको व्यक्तित्वको बारेमा चर्चा गर्नुभएको थियो ।
शिक्षा सेवी थापा भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठानका पूर्वअध्यक्ष र दाना कविताका प्रवद्र्धकसमेत हुनुहुन्छ । थापामा कृतिहरु एक निमेष अनन्तको (दाना कविता सङ्ग्र्रह), अमर सिंहको खोजीमा अमर सिंह (नाटक) र फरक आकाश (कथा सङ्ग्र्रह) प्रकाशित छन् ।

ताजा समाचार

Related Articles