काठमाडौँ, कात्तिक २२ गते । तिहारको दोस्रो दिन आइतबार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ । तिथिको घटबढका कारण दिउँसो चतुर्दशी तिथि र साझ औँसी तिथि लाग्ने भएकाले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शास्त्रसम्मत रूपमा एकै दिन यी दुवै पर्व मनाउने निर्णय गरेको हो । बिहान यमराजको दूतका रूपमा कुकुरको पूजा गरिँदै छ । साँझ धनधान्यकी देवी महालक्ष्मीको आराधना गरी दीपावली गरिने छ ।

कुकुरलाई केवल एउटा पशुका रूपमा मात्र नहेरिएर यमराजको दूत र भैरवको वाहनका रूपमा पूजा गरिन्छ । पौराणिक मान्यता अनुसार यमलोकको ढोकामा चार वटा आँखा भएका ‘श्यामा’ र ‘सबला’ नामका दुई वटा कुकुरले पहरा दिइरहेका हुन्छन् ।

पञ्चाङ्ग समितिका अनुसार कात्तिक २३ गते गाईतिहार, कात्तिक २४ गते गोरुतिहार, गोवर्धन पूजा र म्हपूजा गरिने छ । यसै दिनदेखि नेपाल संवत् ११४७ प्रारम्भ हुने छ । तिहारको अन्तिम दिन कात्तिक २५ गते भाइतिहार (भाइटीका) परेको छ । सो दिन भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेट उत्तम मानिएको छ ।




