काठमाडौँ, कात्तिक २२ गते । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन गरेको छ । न्याय परिषद्को असोज २० गतेको सिफारिस अनुसार नियुक्तिपूर्वको संसदीय सुनुवाइ प्रक्रिया सकिएको हो । अब सिफारिस न्यायाधीशलाई नियुक्तिको बाटो खुलेको छ ।

परिषद्ले सर्वोच्चका लागि उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश गोकर्ण डाँगीलाई सिफारिस गरेको थियो ।

सुनुवाइ प्रक्रिया सकिएपछि समितिले शनिबार चारै जना न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन गरेको हो । सिफारिसमा पर्नुभएका चारमध्ये बागचन्द उच्च अदालतमा मुख्य न्यायाधीश र सारू, पाण्डे तथा डाँगी न्यायाधीशका रूपमा कार्यरत हुनुहुन्छ । सुनुवाइबाट अनुमोदन भएपछि अब समितिले सिफारिस गर्ने निकायसमक्ष अनुमोदनको जानकारी पठाउने छ । यसलगत्तै नियुक्ति प्रक्रियामा जाने छ ।




