काठमाडौँ, कात्तिक २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको शुभकामना दिँदै यस पर्वले नेपालीबिच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ । नेपालीको यस पर्वका अवसरमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक कामनासमेत व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ, “सांस्कृतिक, पौराणिक तथा वैज्ञानिक महत्व बोकेको तिहार पर्व उज्यालो र प्रकाशको पर्व पनि हो । तिहारका माध्यमबाट प्रकट हुने विभिन्न सांस्कृतिक अभ्यासले मानवीय जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य, न्याय र सामाजिक सुशासनको मार्गमा अग्रसर रहन प्रेरित गर्न सकोस् भन्ने कामना गर्दछु ।”

मुलुकको मौलिक संस्कृति संरक्षण गर्ने महत्वपूर्ण कडीका रूपमा समेत यस पर्वलाई हेर्ने गरिएको बताउनुहुँदै उहाँले भाइटीका लगाउने, म्हः पूजा गर्नाले प्रेम र स्नेह, सामाजिक एकता र समृद्धि, धर्म, दया र करुणा तथा अन्धकारमाथि प्रकाशको विजय जस्ता सन्देश प्रवाह गर्ने गरेको धारणा व्यक्त गर्नुभएको छ । “नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो । हामीले मनाउने विभिन्न चाडपर्वले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएको छ । यस्ता पर्वहरूमध्ये तिहार नेपालीको महान् पर्वका रूपमा रहेको छ । यस पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने प्रयत्न गरेको छ,” उहाँले उल्लेख गर्नुभएको छ, “तिहार पर्वलाई यमपञ्चक पनि भनिन्छ । यस पर्वमा काग, कुकुर, गाई, गोरु, पर्वत आदिको सम्मान गर्ने, पूजा गर्ने तथा लक्ष्मीपूजाका दिनमा भगवती लक्ष्मीको पूजाआराधना गरिन्छ । भाइटीकाका दिनमा दाजुभाइ तथा दिदीबहिनीबिच आपसमा टीका लगाई सद्भावका साथ पूजाअर्चना गरी हर्षोल्लासका साथ यो पर्व मनाइन्छ ।” मानव र प्रकृतिबिच अन्योन्याश्रित सम्बन्ध स्वरूप गोवर्धन पर्वत, मानव र अन्य पशुपन्छी, जीवजनावरबिचको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउन परिवार, प्रकृति, जनावर र देवताप्रतिको सम्मान र प्रेम झल्काउने यस पर्वमा सामाजिक भाइचारा र सद्भाव दर्साउन दियो बाल्ने, मिठा परिकार खाने तथा देउसीभैलो खेल्ने परम्परा रहेको राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहार तथा शुभदीपावलीको शुभकामना दिँदै नेपालीको सुखशान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ, “तिहार, दीप प्रज्वलनको पर्व मात्र होइन, यो हाम्रो सभ्यता, संस्कार, प्रकृतिप्रतिको सम्मान, पारिवारिक आत्मीयता र सामाजिक सहअस्तित्वको जीवन्त उत्सव पनि हो । घरआँगनमा बालिने दीपले अन्धकार मात्र हटाउँदैनन्, तिनले आशा, विश्वास, सद्भाव र मानवीय करुणाको उज्यालो पनि छर्छन् । यही उज्यालोले निराशामाथि आशा, विभाजनमाथि एकता र स्वार्थमाथि मानवताको विजयको मार्ग प्रशस्त गर्दछ ।”

“तिहारका अवसरमा मधेशमा गोवर्धनपूजा, सामूहिक रूपमा खेलिने ‘हुक्कालोली’ (हुक्कापाती) र ‘हुर्राहुरी’ जीवन्त लोकसंस्कृतिका अमूल्य प्रतीक हुन् । गोवर्धनपूजाले कृषि, पशुपालन तथा प्रकृतिप्रतिको सम्मान अभिव्यक्त गर्दछ भने हुक्कालोली र हुर्राहुरीले गाउँघरमा आपसी सद्भाव, भाइचारा, सामुदायिक एकता र उत्सवधर्मितालाई बलियो बनाउँछ । यी परम्पराले मौलिक पहिचान, लोकजीवन र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदालाई जीवन्त राख्दै सामाजिक सहअस्तित्व र सामूहिक आनन्दको सन्देश प्रवाह गर्दछन्” उहाँको सन्देशमा उल्लेख छ ।




