मकवानपुरमा यात्रुबाहक ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु, ५ जना घाइते

लोकप्रिय

हेटौँडा, कात्तिक २६ । मकवानपुरको भिमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा आज बिहान यात्रुबाहक विद्युतीय (ईभी) हाइस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको म.प्र. ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक ईभी हाइस बिहान करिब ५ः४५ बजे भिमफेदी गाउँपालिका–६, चिसपानी गढीस्थित सडकबाट करिब ५०० मिटर तल भीरमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ३ महिला, ५ पुरुष र २ बालिका गरी कुल १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, दुर्घटनामा घाइते भएका २ बालक र ३ पुरुष गरी ५ जनाको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ । चालकसहित १४–१५ जना यात्रु सवार रहेको उक्त गाडी दुर्घटनामा परेको हो । मृतक तथा घाइतेहरूको विस्तृत परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय भिमफेदीबाट करिब ८ किलोमिटर उत्तरमा पर्ने उक्त दुर्घटनास्थलमा बिहान ५ः५५ बजे जानकारी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक दिपेन्द्र ढकालको कमाण्डमा ७ जनाको टोली खटिएको थियो । उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपाल कारागार सुरक्षा बेस भिमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा १० जना र श्री बहुउद्देश्यीय प्लाष्टिक उद्योग भिमफेदीमा खटिएको नेपाली सेनाका सेनानी आरोग्य गौतमको कमाण्डमा ११ जनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो । यसैगरी, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीको कमाण्डमा १० जना र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्‍याङ हेटौँडाबाट प्रहरी सहायक निरीक्षक जयप्रकाश यादवको कमाण्डमा १० जनाको थप टोली समेत घटनास्थलमा खटी उद्धार तथा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles