काठमाडौँ, कात्तिक २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले छठ पर्व मनाउन घर फर्किंदै गरेका सर्वसाधारण सवार यात्रुवाहक सवारीसाधन मकवानपुरको भीमफेदीमा दुर्घटना भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।
लामिछानेले सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै भीमफेदीमा भएको सडक दुर्घटनामा नागरिकले अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ।

उहाँले एउटै बस्ती र टोलमा परेको यो अकल्पनीय विपत्तिको पीडा शब्दमा व्यक्त गर्न नसकिने बताउँदै दुर्घटनामा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। साथै, उहाँले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ।

सभापति लामिछानेले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ।
त्यसैगरी, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनसमेत उहाँले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।




