खासकुरा संवाददाता
हेटौँडा, कात्तिक २६ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं। ६, चिसापानीगढीमा भएको दर्दनाक सवारी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। बिहीबार बिहान भएको उक्त दुर्घटनामा परी १० जनाको निधन भएको र ५ जना घाइते भएको खबरले आफूलाई स्तब्ध र मर्माहत बनाएको उहाँले उल्लेख गर्नुभएको छ।
एक शोक सन्देश जारी गर्दै मुख्यमन्त्री थापाले दुर्घटनामा परी जीवन गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उहाँले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ।
साथै, मुख्यमन्त्री थापाले दुर्घटनामा घाइते भएकाहरूको प्रभावकारी उपचार, आवश्यक उद्धार तथा उचित व्यवस्थापनका लागि सम्बन्धित सबै निकायलाई आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गर्नुभएको छ।




