खासकुरा संवाददाता
हेटौँडा, कात्तिक २६ गते । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहीबार बिहान भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुलेको छ । दुर्घटनामा परी इभी चालक सर्लाही कविलासी नगरपालिका–८ का रविशङ्कर कुमार मण्डलको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार, उक्त दुर्घटनामा ११ जनाको मृत्यु हुनका साथै छ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र तीन बालिका रहेका छन् । दुर्घटनाका घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक इभी बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकबाट करिब ५०० मिटर तल झरेको थियो ।




