हेटौँडा, मंसिर २ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ केजीभन्दा बढी सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
नेपाल वायुसेवा निगमको उडान नं. आर ए ४१० मार्फत हङकङबाट काठमाडौँ आएका चीनको जिलिन प्रान्तका ५८ वर्षीय जियानहुआ वाङलाई शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्दा सुनजस्तो देखिने पदार्थ मंसिर २ गते १ः२५ बजेको समयमा बरामद गरिएको हो ।

विमानस्थलमा खटिएको प्रहरीले निजले मलद्वारभित्र लुकाएर ल्याएको गोलाकार अर्धठोस पदार्थलाई प्लास्टिकको ब्यागसहित निकाल्ने क्रममा फेला पारेको जनाएको छ । बरामद पदार्थको तौल एक किलो ८०३.७७ ग्राम रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा कार्यालय, गौचर, काठमाडौँका प्रहरी नायव उपरीक्षक ढुण्डिीराज नेउपानेले जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ परेका वाङलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको जनाएको छ ।




