कार्तिक नाचः एक चर्चा

लोकप्रिय

कार्तिक नाच : मल्लकालदेखि जीवन्त रहेको झण्डै चार शताब्दी पुरानो सांस्कृतिक परम्परा
नेपालको ऐतिहासिक तथा सांस्कृतिक सहर पाटनमा प्रत्येक वर्ष कार्तिक महिनामा प्रस्तुत गरिने कार्तिक नाच झण्डै चार शताब्दी पुरानो सांगीतिक तथा नाट्य परम्परा हो। नेपाल संवत् ७६१ (वि.सं. १६९७) मा ललितपुरका राजा सिद्धिनरसिंह मल्लले पाटनवासीका लागि यस नाचको स्थापना गर्नुभएको थियो। May be an image of dancing and fluteयस नाचका सर्जक राजा सिद्धिनरसिंह मल्लका शिक्षागुरु पण्डित तथा नाट्याचार्य हरिवंश उपाध्याय हुनुहुन्छ भने तान्त्रिक पक्षमा राजाका दीक्षागुरु विश्वनाथ उपाध्यायको योगदान रहेको छ। शास्त्रीय, तान्त्रिक र लोक परम्पराको सम्मिश्रण यस नाचको विशिष्ट विशेषता हो।
सुरुमा पाँच दिनबाट आरम्भ भएको कार्तिक नाचलाई वि.सं. १७२३ (सन् १६६६) मा राजा श्रीनिवास मल्लले तीन चलाख दाजुभाइको कथामा आधारित सात दिनको बाथः प्याखँ थपेर विस्तार गर्नुभयो। त्यसैगरी, वि.सं. १८०४ (सन् १७४७) मा राजा योगनरेन्द्र मल्लले उषाहरण लीला र माधवानर लीलासहित थप १५ दिनका नाटक समावेश गर्नुभयो। यसपछि तिहारका तीन दिनबाहेक पूरै कार्तिक महिना नाच प्रदर्शन हुन थाल्यो।May be an image of dancing
यसका शास्त्रीय प्रस्तुतिमा भगवान् विष्णुका विभिन्न अवतार र लीलाहरू समेटिएका छन् भने लोकपक्षमा ब्रह्मा, विष्णु र महेश्वरका प्रतीकका रूपमा प्रस्तुत हुने ग, सम र बाथः किजा नामका तीन दाजुभाइका कथामार्फत समाजका कुरीति र विकृतिमाथि हास्यव्यङ्ग्य गरिन्छ।
वि.सं. २००६ सम्म निरन्तर एक महिनाभर प्रदर्शन हुँदै आएको यो नाच जनक्रान्तिपछि वि.सं. २००७ मा बराह र नृसिंह अवतार गरी दुई दिनमा सीमित भयो। वि.सं. २०३८ देखि विष्णुका अन्य लीला, बाथः प्याखँ, माधवानर र उषाहरण लीला थप्दै यसको पुनः विस्तार गरियो। त्यसपछि विभिन्न समयमा आठ, दस र बाह्र दिनसम्म यसको प्रदर्शन हुँदै आएको छ।May be an image of one or more people
आज पनि शताब्दीयौँ पुरानो यस परम्परालाई जीवन्त राख्दै यस वर्ष कार्तिक नाच पाटन दरबार स्क्वायरमा प्रत्येक साँझ ७ बजे प्रस्तुत भइरहेको छ। मंसिर ८ गतेसम्म सञ्चालन हुने यस ऐतिहासिक नाट्य उत्सवले स्थानीय तथा विदेशी दर्शकलाई नेपालको समृद्ध कला, संस्कृति र जीवन्त सम्पदासँग साक्षात्कार गर्ने अवसर प्रदान गरिरहेको छ।
आज कार्तिक नाच ललितपुरको मात्र नभई सिंगो नेपालको राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदाका रूपमा रहेको छ। विभिन्न नेवार समुदायका कलाकारहरूले पुर्खाबाट हस्तान्तरण हुँदै आएका भूमिका निर्वाह गर्दै यस परम्परालाई निरन्तरता दिइरहेका छन्।
फोटो सौजन्य: कार्तिक नाच परिवार, पाटन, ललितपुर

ताजा समाचार

Related Articles