खासकुरा संवाददाता
हेटौँडा, मंसिर २ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकाभित्रका अति विपन्न, सीमान्तकृत तथा असहाय नागरिकले उपचारमा विशेष छुट पाउने भएका छन् ।
राक्सिराङ गाउँपालिकाभित्रका अति विपन्न, सीमान्तकृत तथा असहाय नागरिकको स्वास्थ्य उपचारलाई सहज र सुलभ बनाउन गाउँपालिका र काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) बीच सम्झौता भएको छ ।

मंसिर १ गते सम्पन्न सम्झौता अनुसार गाउँपालिकाको सिफारिसमा उपचारका लागि जाने बिरामीले नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, विपन्न नागरिक, जेष्ठ नागरिक तथा औषधि उपचार कोषको पूर्ण सुविधा उपभोग गरिसकेपछि बाँकी रहने उपचार खर्चमा विशेष छुट पाउनेछन् ।
सम्झौतामा राक्सिङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र केएमसीका तर्फ प्रशासन प्रमुख नारायण प्रसाद दाहालले हस्ताक्षर गर्नुभएको छ ।
केएमसी साथै विपन्न नागरिकहरूका लागि २ लाख रुपैयाँसम्मको निःशुल्क उपचारको सुविधा समेत व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

सम्झौता बमोजिम बिरामीहरूले काठमाडौँ मेडिकल कलेज मातहतका विभिन्न तीनवटा अस्पतालमा निम्नानुसारको छुट सुविधा प्राप्त गर्ने राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।
केएमसी शिक्षण अस्पताल, दुवाकोट (भक्तपुर) मा ५० प्रतिशत, काठमाडौँ मेडिकल कलेज, सिनामंगल काठमाडौँ २५ प्रतिशत र नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरमा २० प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख छ ।
यो सुविधा स्वास्थ्य बीमामा आबद्ध नभएका वा बीमा क्रियाशील हुनुअघिको समयावधिका राक्सिराङ गाउँपालिका बिरामीले समेत पाउने गरी सम्झौता गरिएको छ ।
अस्पतालहरूमा ओपीडी कार्ड पूर्ण रूपमा निःशुल्क उपलब्ध हुने भएको छ । यस्तै, जेनेरल बेड चार्ज, आईसियू, एचडीयू, सीसीयू, अपरेसन सेवा (ओटी), ल्याब परीक्षण, एक्स(रे, यूएसजी, डेन्टल एक्स(रे, सीटी–एमआरआई (फिल्म बाहेक), इसीजी, इण्डोस्कोपी, इको, फिजियोथेरापी तथा डेन्टल उपचार (सामग्री बाहेक) मा २५ प्रतिशत छुट दिइने सम्झौतामा उल्लेख छ ।

साथै यो सुविधा प्रत्यक्ष स्वास्थ्य उपचारसँग सम्बन्धित सेवाहरूमा मात्र लागू हुने गाउँपालिकाले स्पष्ट पारेको छ । आईभीएफ, प्लास्टिक तथा कस्मेटिक सर्जरी, अङ्ग प्रत्यारोपण, न्युरो इन्टरभेन्सन, क्याथ ल्याब सेवा तथा सामग्री, क्याबिन चार्ज, औषधि र अन्य चिकित्साजन्य सामग्रीहरू (इम्प्लान्ट तथा सर्जिकल सामग्री) मा भने यो छुट उपलब्ध हुने छैन ।
गाउँपालिका क्षेत्रभित्रका बासिन्दाहरूले उच्च तथा विशेषज्ञ स्वास्थ्य उपचार सेवा लिनुपर्दा गाउँपालिकाको कार्यालयबाट विधिवत् रूपमा सिफारिस पत्र लिएर मात्र सेवा लिन अध्यक्ष मल्लले आग्रह गर्नुभयो ।




