काठमाडौँ, मंसिर ११ गते । बेपत्ता व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केन्द्रीय विपद् व्यवस्थापन कोषबाट ५० करोड १ लाख रुपियाँ जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा पठाएको छ ।

रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, डडेल्धुरा, जुम्ला, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र कञ्चनपुर जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको माग अनुसार उक्त रकम निकासा गरिएको हो । अन्य जिल्ला विपद् व्यवस्थापन कोषमा समेत ती जिल्लाको माग अनुसार रकम पठाउने गरी तयारी गरिएको छ ।

यसअघि रसुवा–भोटेकोशी बाढी, गोरखा–बुढीगण्डकी बाढी र कालीगण्डकी बाढी प्रभावित विपद् संकटग्रस्त क्षेत्र घोषित ४१ स्थानीय तहका लागि २४ करोड ५० लाख रुपियाँ निकासा भइसकेको छ । रसुवा, नुवाकोट र धादिङका १२ स्थानीय तहका विपद् प्रभावित घरपरिवारलाई विभिन्न १० विकास साझेदार संघसंस्थाले बहुउद्देश्यीय नगद सहायता स्वरुप २९ करोड ६१ लाख ७५ हजार रुपियाँ वितरण गरिसकेका छन् ।




