खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने ८ जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
काठमाडौँ, मंसिर १२ गते । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरिरहेको आरोपमा काठमाडौँको टुकुचास्थित खसी बजारबाट ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौँ महानगरपालिका–२८ टुकुचास्थित खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भनी बिक्री वितरण भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले शनिबार दिउँसो करिब ४ बजे चेकजाँच गरेको थियो। सो क्रममा बाख्रीको मासु अन्दाजी ५६७ केजीसहित दुईवटा सवारी साधन बि ए डी ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीमा लोड गर्दै गरेको अवस्थामा उनीहरूलाई फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूमा स्थायी घर सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका–२ घर भई हाल काठमाडौँको टेकुमा बस्ने ४० वर्षीय दिलबहादुर मोक्तान, मुगु जिल्लाको सिर्कोट घर भई हाल काठमाडौँको टुकुचामा बस्ने ३२ वर्षीय करण बानियाँ, ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय मनोज थापा, धादिङ जिल्लाको गजुरी गाउँपालिका–१ घर काठमाडौँको बागबजार बस्ने २६ वर्षीय सनम तामाङ र सोही स्थानका २२ वर्षीय राजु लामा रहेका छन् ।

यस्तै काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का २७ वर्षीय टेक बहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका–१, घर भई हाल काठमाडौँको पुतलीसडक बस्ने २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ घर भई हाल काठमाडौँको मैजुबहाल बस्ने २५ वर्षीय दिनेश महतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिनुभएको छ।

ताजा समाचार

Related Articles