झापा, मंसिर १२ गते । एपीएफ फुटबल क्लबले झापाको दूधेमा आयोजित दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको उपाधि हात पारेको छ । एपीएफले उपाधिसहित ११ लाख रुपैयाँ र शील्ड प्राप्त गरेको छ । उपविजेता भएको त्रिभुवन आर्मी फुटबल क्लबले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

निर्धारित ९० मिनेटमा आर्मीसँग १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको प्लेयर अफ द म्याच विजेता एपिएफकी गोलकिपर एञ्जिला तुम्बापो भइन् । उनले १५ हजार रुपैयाँ पुरस्कार पाइन् । प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी एपीएफकी रश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाइन् ।

त्यसैगरी, उत्कृष्ट गोलकिपर एपीएफकी एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर एपीएफकी रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर एपीएफकी गीता राना, सर्वाधिक गोलकर्ता एपीएफकै रश्मिकुमारी घिसिङ, उत्कृष्ट प्रशिक्षक एपीएफका जिवेशकुमार पाण्डे, उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी घोषित भए । उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए । मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता थियो ।




