जुम्ला, मंसिर १२ गते । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका –३ दाउणामा ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

शुक्रबार साँझ करिब ६ः३० बजे पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको स.प.प्र. ०१–००२ त ४६८७ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ट्र्याक्टर चालकसहित सात जना सवार रहेका थिए ।
दुर्घटनामा परी बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका ३ मनिकाँडाका ४५ वर्षीय धनरूप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु भएको छ ।

यस्तै घाइते हुनेहरूमा अछामको रामारोशन गाउँपालिका ४ का २१ वर्षीय ट्र्याक्टर चालक नवीन बोहरा, बाजुराको जगन्नाथ गाउँपालिका ३ मनिकाँडा बस्ने ४० वर्षीया बिउरा ओड, सोही स्थानका ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया संगीता शाही र ५२ वर्षीया रामशरा देवी सिंह रहेका छन् ।
घाइतेहरूलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल, बाजुरा पठाइएको छ भने उक्त दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।




