दुई ट्राफिक प्रहरी निलम्बनमा

लोकप्रिय

बुटवल, मंसिर १२ गते । सेवाग्राहीसँग आचरणविपरीत आर्थिक लाभ लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी कर्मचारी निलम्बनमा परेका छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवल, रूपन्देहीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके मातहत अस्थायी ट्राफिक प्रहरी पोस्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीषराम थारु र अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगन्ज, बाँकेमा कार्यरत प्रहरी जवान टोप बहादुर खड्कालाई निलम्बन गरिएको हो। थारु र खड्काले मङ्सिर ८ गते ट्राफिक प्रहरीको पोसाकमा ड्युटीमा रहेको अवस्थामा सेवाग्राहीसँग आचरणविपरीत आर्थिक लाभ लिएको देखिने भिडियो मङ्सिर १० गते फेसबुकलगायत सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।

उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कार्यालयले भिडियोमा संलग्न दुवै जना प्रहरी कर्मचारीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम मङ्सिर गत शुक्रबार ११ गतेदेखि लागू हुने गरी निलम्बन गरेको छ। घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिनुभएको छ।

ताजा समाचार

Related Articles