बारा, मंसिर १२ गते । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चेकपोष्ट नजिकबाट लागुऔषध गाँजा बरामद गरिएको छ ।

शनिबार साँझ ५ः४० बजे अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीलाई शंका लागी चेकजाँच गर्न खोज्दा चालकले गाडी नरोकी तीव्र गतिमा भगाएका थिए।
तत्काल प्रहरी चौकी पथलैया र तालुक इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले गाडी पछ्याउने क्रममा दुधौरा खोलाको पुलपारि जंगलछेउमा इन्जिन चालु अवस्थामै गाडी छाडेर चालक फरार भएको प्रहरीको भनाई छ ।

उक्त जंगल क्षेत्रलाई घेराबन्दी गरी खोजतलास गर्दा चालक फेला नपरे पनि चालक भागेको दिशातर्फ एक थान किप्याड मोबाइल फेला परेको थियो । उक्त गाडी नियन्त्रणमा लिई जाँच गर्दा पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको २३७.१७ किलोग्राम लागुऔषध गाँजा बरामद भएको हो।




