काठमाडौँ , मङ्सिर १२ गते । नेपाली काँग्रेसले संवैधानिक मर्यादामा रहन र जनसरोकारका काममा केन्द्रित हुन सरकारलाई सचेत गराएको छ ।

नेपाली काँग्रेसको यही मंसिर ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारलाई कार्यशैली सच्याउन र कानूनी शासनको मर्यादामा रहन सचेत गराउने निर्णय गरेको हो । बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार षडयन्त्र र प्रियतावादमा नभई विधिसम्मत ढङ्गले चलोस् र राष्ट्रिय हितमा केन्द्रित होस् भन्ने काँग्रेसको धारणा रहेको बताउनुभयो ।

यस्तै कांग्रेसको संयमलाई कमजोरी, रचनात्मकतालाई मौनता र जिम्मेवारीपूर्ण व्यवहारलाई सरकारको स्वेच्छाचारिताप्रतिको सहमतिका रुपमा नबुझ्न पनि बैठकले सरकारलाई सचेत गराएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको प्रतिपक्षीय भूमिकालाई थप प्रभावकारी बनाउने, लोकतन्त्र, विधिको शासन र जनजीविकाका सवालमा संसद्, सार्वजनिक मञ्च तथा लोकतान्त्रिक विधिबाट निरन्तर खबरदारी गर्ने निर्णय गरेको छ । बैठकले बाढी पिडित र सुकुम्वासीका समस्या समाधानका लागि सरकारलाई सचेत गराउने, पार्टीले सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ’ अभियानको कार्यविधि निर्धारण गर्ने, गत भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित छानबिन, प्रतिबद्धता र निर्णयको अवस्था बारे सरकारसँग जवाफ माग्ने लगायतका निर्णयहरू गरेको नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो ।




