हेटौँडा, चैत १९ गते ।
मकवानपुरको थाहा नगरपालिका वडा नं. ६ मा अभिनय कला सम्बन्धी कार्यशाला सम्पन्नभएको छ ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गतको सञ्चार रजिष्ट्रारको कार्यालय हेटौँडाको आयोजनामा तीन दिने अभिनय कला सम्बन्धी कार्यशाला भएको हो ।
कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय सुरेशचन्द्र लामिछानेले नेपाली संस्कृति र कलालाई पर्यटनसँग जोड्दै आयआर्जनमा लाग्नुपर्ने बताउनुभयो ।
उहाँले नेपाली कला, संस्कृति र परम्पराको संरक्षणलाई जोड दिँदै आएको भन्दै मौलिक चलचित्र प्रवद्र्धनमा सहयोग गर्ने नीति लिएको बताउनुभयो ।
थाहा नगरमा २५ जनाको सहभागिता रहेको अभिनय कला सम्बन्धी कार्यशालामा वरिष्ठ कलाकार तथा प्रशिक्षकद्वय प्रभाकर देव शर्मा र भोला सापकोटाले प्रशिक्षण दिनुभएको थियो ।
आइतबार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले समापन गर्नुभएको प्रशिक्षण कार्यक्रममा थाहा नगरपालिका वडा नं ६ का वडाध्यक्ष राजेन्द्र भक्त श्रेष्ठ, चलचित्रकर्मी सुनिल पाण्डे, थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानलगायतको सहभागिता रहेको थियो ।
थाहा फिल्म फेस्टिभल संयोजक प्रमोद कृष्ण जोशीले सो अवसरमा फिल्म निर्माणका निर्देशन, भिडियोग्राफी र स्क्रिप्टलेखन तालिम माग गरिएको भन्दै मुलाबारीचौरमा फिल्म सिटी निर्माणका अवलोकन निरीक्षण गरिएको बताउनुभयो ।