गौरीटारस्थित फुटबल खेल मैदानको मुख्यमन्त्री लामाद्वारा उद्घाटन

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १० गते ।
बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका ६ स्थित गौरीटार रंगशालामा प्याराफिटसहितको सुविधा सम्पन्न फुटबल खेल मैदान निर्माण गरेको छ । बुधबार मकवनापुर जिल्ला खेलकुद पिकास समिति, हेटौँडाको आयोजनामा भएको सो कार्यक्रममा उक्त फुटबल मैदानको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले बुधबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री लामाले सुविधा सम्पन्न खेल संरचनाको निर्माणले खेलाडी उत्पादनमा सहयोग पुग्ने भन्दै खेलकुदले सामाजिक सद्भावसँगै भातृत्वको विकासमा सहयोग पुग्ने बताउनुभयो ।
प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलक्षेत्रलाई पर्यटन क्षेत्रसँग जोडर खेल पर्यटनको विकास गर्नुपर्नेमा जोड दिँदै खेल पूर्वाधार निर्माणमा प्रदेश सरकार लागेको बताउनुभयो ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य सचिव दीपक लामाले खेल क्षेत्रको संरचना निर्माण गर्दा सम्भाव्यता अध्ययन गरी लाभ दिने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
रंगशाला परिसरमा निर्माण गरिएको फुटबल खेल मैदानमा एथ्लेटिक्स ट्रयाक निर्माण, मैदान, फ्याराफिटमा कुर्सी जडान, पर्खाललगायतका संरचना १३ करोड ३८ लाख ६५ हजार रुपियाँको लागतमा निर्माण गरिएको हो ।
फुटबल खेलमैदानमा रहेको प्याराफिटमा दुई हजार चार थान कुर्सी, स्वचालित पानी हाल्ने प्रणालीको जडान गरिएको सामाजिक विकास कार्यालय मकवानपुरका प्रमुख गोपालप्रसाद कंडेलले जानकारी दिनुभयो । खेल मैदान सामाजिक विकास कार्यालय मकवानपुरले युवा तथा खेलकुद मन्त्रालयलाई र मन्त्रालयले प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशलाई हस्तान्तरण गरेको थियो ।

ताजा समाचार

Related Articles