खासकुरा संवाददाता
हेटौँडा, वैशाख ११ गते ।
मकवानपुर प्रहरीले अवैध रुपमा ल्याईएका चौपाया (गोरु) र गाडीसहित चार जनालाई नियन्त्रण लिएको छ ।
प्रहरी चौकी बसामाडी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका ३ बसामाडी स्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा चितवनतर्फबाट हेटाँैडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ख ३४११ नम्बरको गोरु राखेर ल्याइएको चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त ट्रक रोकी जाँच गर्दा भेटरिनरीको कागजातहरु नभएका २२ वटा गोरुह ढुवानी गरी ल्याईएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । पक्राउ पर्नेहरुमा गोरखा अजिरकोट गाउँपालिका ४ बस्ने वर्ष २५ का सुरज परियार, वर्ष २४ का कुशल परियार, धादिङ सिद्धलेक गाउँपालिका २ बस्ने वर्ष २६ का ट्रक चालक गणेश मगर र सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ३ बस्ने वर्ष ५६ का जितु यादव रहेका छन् । प्रहरीले ट्रक चालक र ट्रकमा सवारसहितलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पशुसेवा केन्द्र कार्यालय हेटौँडामा बुझाएको छ ।




