– डा. गंगादत्त नेपाल

१. पृष्ठभूमि
भौतिक दूरी तथा भौगोलिक बनावटले राजधानी काठमाडौंको निकट भएपनि बत्तीमुनीको अँध्यारो भन्ने नेपाली उखानलाई चरितार्थ गर्ने दुर्गम क्षेत्र सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ६ तालामाराङ् गाउँ (साविकको तालामाराङ् गाविस) मा मेरो जन्म भएको हो । हालसम्म पनि विकास निर्माण र सामाजिक परिवेशमा धेरै नै पछाडि रहेको मेरो गाउँ र शिक्षाको ज्योतिबाट विमुख मेरा मातापिताको लागि गाउँमा रहेर पनि आफ्ना सन्तानलाई पढाउनु पर्दछ भन्ने स्वविवेकी जनचेतनाका कारण मेरो अध्ययनको यात्रा गाउँस्थित तत्कालीन पन्चकन्या प्रा.वि. (हाल पन्चकन्या आधारभूत विद्यालय) बाट नै शुरु हुनपुग्यो । आफू अशिक्षित भएपनि पहिलो पाठशालाको रुपमा रही जीवनको शिक्षा दिने मेरा मातापिता तथा मलाई कखराबाट जीवन चिन्न शुरु गराउँने मेरो पहिलो विद्यालयप्रति आफू सदा ऋणी भएको महशुस गरिरहन्छु । बेन्च र डेस्कको अभावमा आफैंले घरबाट लगेको गुन्द्रीमा बसेर पढाई शुरु गर्नुपर्दाको तत्कालीन परिवेश तथा घरबाट निकट दूरीमा अवस्थित फूलपातीचौरमा रहेको विद्यालय कक्षा २ मा पढ्दै गर्दा पहिरोले बगाएपछि केही टाढा विद्यालय सार्नुपरेको बाध्यताको परिणाम स्वरुप झिम्झिमे झरीमा रुझ्दै भिज्दै र भीमकाय पहिरो छिचोल्दै विद्यालय गएका अतीतका स्मृतिका ती तरङ्गहरु अझ पनि मेरा मानसपटलमा पटक पटक खेलिरहन्छन् ।
वि.सं. २०३८ सालमा तहाँबाट कक्षा ५ को जिल्लास्तरीय परीक्षा उत्तीर्ण गरे पश्चात् छिमेकी हेलम्वु गाउँपालिका वडा नं ४ (साविकको माहाङ्काल गाविस) स्थित करिब साढे एक घण्टाको पैदल दूरीमा रहेको सरस्वती माध्यमिक विद्यालय ग्याल्थुम मात्र मेरा लागि त्यसपछिको उपर्युक्त विकल्प रहेकोले स्वभावतः मेरो परिवारले पनि सोही विकल्प रोज्यो ।
जेहेनदार विद्यार्थीको रुपमा विभिन्न प्रकारका छात्रवृत्ति प्राप्त गर्दै तथा विभिन्न उत्सव र अवसरमा हुने हाजिरीजवाफ, वावविवाद र निबन्ध लेखन प्रतियोगिता जस्ता अतिरिक्त क्रियाकलापमा सधैं जसो प्रथम हुँदै २०४३ सालमा त्यसै विद्यालयबाट एस.एल.सी. उत्तीर्ण गरें । घरको आर्थिक स्थितिले काठमाडौंमा बसेर पढ्न सम्भव नहुँदा नहुँदै पनि उच्च शिक्षा अध्ययनको अभिलाषाले भौतिक विज्ञान विषयमा आइ.एस्सी.मा भर्ना भएं, तर तर खर्च जुटाएर राजधानीमा पढ्न कम्ती चुनौती थिएन मेरा लागि । भगवानले ‘तँ आँट म पुर्याउँछु’ भन्छन् भनेझै अभावलाई हिम्मतले जित्न सकिँदोरहेछ । विभिन्न आरोह तथा अवरोह पार गर्दै तथा विभिन्न आवासीय विद्यालयका विद्यार्थीहरुलाई ट्युसन पढाएर खर्च जुटाउँदै विज्ञान विषयमा स्नातक गर्न सफल भएँ ।

२. निजामती सेवाको अनुभव
आफूले पढेका र सिकेका समस्त ज्ञानलाई देशको सेवामा समर्पित गर्ने हेतुले नेपाल सरकारको निजामति सेवाको रोजगारीमा प्रवेश गरेँ । त्यस समयमा रहरका साथै घरपरिवारको जिम्मेवारीका कारण पनि मेरा लागि जागिर नितान्त आवश्यकत तथा बाध्यतामा परिणत हुनपुगेको यथार्थता थियो । फलस्वरुप विज्ञान विषयमा स्नात्तकोत्तरको लागि भर्ना भए पनि दिवा सेवाको पढाई भएकोले जागिर र अध्ययन समानान्तर रुपमा गर्न नमिल्ने जटिलताको बावजुद अध्ययन रोक्नबाध्य भएँ । तथापि पनि पढाईलाई बोझ नभई रमाईलो रुपमा लिने मेरो इच्छाका कारण त्रिभुवन विश्विद्यालयको प्राइभेट विद्यार्थीको रुपमा व्यवस्थापन संकाय अन्तर्गत अर्को स्नातक (वि.कम.) आयोजना तथा कार्यालय व्यवस्थापनमा गरेँ ।
जसका कारण पछि विभिन्न समयमा विकास आयोजनामा व्यवस्थापक तथा प्रमुख हुँदा उक्त स्वाध्ययनले धेरै सहजता प्राप्त गरेको महशुस गरेको छुँ । निजामति सेवामा हाल प्रचलनमा रहेको समावेशीकीकरणमा आधारीत बढुवा प्रक्रिया तथा संघीयतापछि अवैज्ञानिक कर्मचारी व्यवस्थापनका कारण धेरैमा नैराश्यता छाएको छ जसका कारण धेरैले सेवाबाट स्वेच्छिक अवकाश लिँदै गरेको अवस्था छ । राजनीतिक परिवर्तनले मूलतः जनताको इच्छा, आकांक्षामा वृद्धि ल्याउने गर्दछ । यस परिवेशबाट मैलैपनि निजामती सेवामा रहेर कामगर्न त्यति सहज नठानेर ११ वर्ष जागिर अवधि बाँकी रहँदै स्वेच्छिक अवकाश लिए ।
यस सन्दर्भमा निजामती सेवाले जनताको इच्छा, आकांक्षा पूर्ति गर्न सक्ने किसिमको सेवाप्रवाह गर्न सक्नुपर्छ । अनिमात्र राजनीतिक परिवर्तनको सार्थकता रहने र राजनीतिक स्थायित्व कायम हुने गर्छ । नेपालको निजामती सेवाले पनि आवश्यकता अनुसार समाहित गर्दै लैजानु पर्ने आवश्यकता टड्कारो देखिन्छ । राज्य र जनताबीचको सम्बन्ध अभिव्यक्त हुने प्रमुख माध्यम सार्वजनिक सेवा नै हो । त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व हो । राज्यको यसै विशिष्ट दायित्वको आधारमा राज्य र जनताको सम्बन्ध स्थापित भएको हुन्छ । यसर्थ सार्वजनिक सेवाप्रवाह राज्य र जनताबीच भेट हुने संगम स्थल हो । यसै सम्बन्धको कारणले राज्यको पहिलो दायित्व सेवाप्रवाहको प्रभावकारिता अभिवृद्धि गर्ने रहेको हुन्छ ।
सेवाप्रवाहको प्रभावकारिताको स्तरले सरकारको लोकप्रियताको स्तर निर्धारण गर्ने गर्छ । सार्वजनिक सेवाप्रवाहमा दक्षता र प्रभावकारिताको स्तरले सुशासनको सही अवस्थाको चित्रण गरेको हुन्छ । निजामती सेवा सरकारी नीति कार्यान्वयन र सेवा प्रवाहको महत्वपूर्ण, समन्वयकारी र एकमात्र सरकारी संयन्त्र भएकोले प्रभावकारी जनशक्ति व्यवस्थापनबाट नै सक्षम तथा प्रभावकारी निजामती सेवाको अपेक्षा गर्न सकिन्छ । यस पृष्ठभूमिमा निजामती सेवाको प्रभावकारी व्यवस्थापनमार्फत निजामती सेवालाई बढी उत्पादनशील, उत्तरदायी र सिर्जनात्मक बनाई परिवर्तित परिवेशले ल्याएको अवसर र चुनौती अनुरूप यसलाई चल्नसक्ने बनाउनु अति नै आवश्यक देखिन्छ ।

३. नेदरल्याण्ड सरकारको छात्रवृत्तिमा अध्ययन
नेपाल सरकारको सेवामा रहँदै गर्दा निजी प्रयासमा सन् २००० मा नेदरल्याण्ड सरकारको छात्रवृत्तिमा विश्वभरीका व्यक्तिहरुको प्रतिष्पर्धाबाट छनौट भई नेदरल्याण्डको रोटरड्याम सहरमा पोष्ट ग्राजुयट अध्ययनका लागि जाने मौका प्राप्त भयो । म जस्तो ग्रामीण परिवेशबाट आएको व्यक्तिलाई अन्तर्राष्ट्रियस्तरमा अध्ययन गर्न जाने अवसर प्राप्त गर्नु सानो कुरा थिएन । कताकता मनमा धेरै कौतुलताले मनमा छाएको थियो भने अवसर प्राप्त गरेकोमा मन मनै खुशी नि भएको थिएँ । उक्त अध्ययनलाई उत्कृष्टता हाँसिल गरी नेपाल फर्केपछि मेरो जीवनले फेरी अर्को मोड लिएको ठान्दछु म ।
एक त म जस्तो गाउँमा जन्मेर विद्यालय शिक्षा गाउँबाटै प्राप्त गरेको तथा सहरमा उच्च शिक्षा अध्ययन गरेपनि विभिन्न सामाजिक आर्थिक तथा पारिवारिक उल्झनहरुको बीचमा अध्ययन गरेको म जस्तो मान्छेले राष्ट्रिय मात्र होईन अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गर्न सकिँदो रहेछ भन्ने आत्मविश्वासमा वृद्धि भयो भने अर्को पश्चिम युरोपको मुटुमा रहेको नेदरल्याण्ड देश र यस आसपासमा रहेका बेल्जियम, फ्रान्स, जर्मनी तथा लक्जेम्वर जस्ता विश्वका नामुद सम्पन्नशाली देशहरुको भ्रमणले मेरो मानसपटलमा छुट्टै खालको सुनामी ल्याईदियो ।
नेदरल्याण्ड सरकारको छात्रवृत्ति मार्फत अध्ययन सकेर फर्केपछि, इन्जिनियरिङ्ग अथवा विज्ञान संकायमा उच्च अध्ययन युरोपकै कुनै देशमा गर्ने उत्कृष्ट अभिलाषा मनमा पलाएको थियो, तर नेपाल फर्केपछिको घरायसी अवस्थाले तुरुन्तै विदेश अध्ययन अध्ययन गर्न जान सम्भव भएन । यसैबीचमा त्रिभुवन विश्वविद्यालयले पहिलो पटक ग्रामीण विकासमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्यो, जसमा मैले प्रथम व्याचमा नै प्रथम श्रेणीमा उत्तीर्ण गर्न सफल भएँ । सायद आफ्नो विज्ञताले गर्नसक्ने कामहरु विभिन्न गैरसरकारी संस्थाहरुको अध्ययन तथा मूल्याङ्कन गर्ने परामर्शदाताको हैसियतल काम गरको अनुभवले होला ग्रामीण विकासको स्नातकोत्तर तह मैलै सहजरुपमा पूरा गर्न सकेँ।

४. जर्मन सरकारको छात्रवृत्तिमा अध्ययन:
विभिन्न बाध्यता र विवशताको तगारोले अधुरो रहेको विज्ञानमा उच्चशिक्षा हाँसिल गर्ने मेरो प्रगाढ ईच्छा मरेको थिएन, जीवितै थियो । त्यसैले मैले जर्मनस्थित उत्कृष्ट विश्वविद्यालयमा अध्ययनको लागि नेपाल सरकारबाट सहमति लिएर सन् २००४ मा फाराम भरेँ । जर्मनस्थित प्राविधिक विश्वविद्यालयहरु अन्तर्गत अत्यन्त प्रख्यात र स्तरीय काल्र्सुर विश्वविद्यालयले (हाल काल्र्सुर इन्स्टिच्यूट अफ टेक्नोलोजी) मा सिभिल तथा वातावरण इन्जिनियरिङ संकाय अन्तर्गतको प्रादेशिक विज्ञानमा एम.एस्सी. (एम.फिल. सरह) अध्ययनार्थ छात्रवृत्तिमा सपरिवार जर्मनमा बस्नको लागि मलाई छनौट गर्यो ।
त्यो दिन म र मेरो परिवारको लागि एक हर्षको दिन थियो । यस अन्तर्गत मलाई ६ महिना जर्मन भाषा सिक्नकोे लागि समेत छात्रवृत्ति प्रदान भएको थियो । जसको लागि म सन् २००५ को शुरुवाती सँगै जर्मनी प्रस्थान गरेँ । छ महिनाको भाषा जर्मनस्थित मानहाइमको गोथे इन्स्टिच्युटमा सम्पन्न गरे पश्चात् विश्वको प्रख्यात विश्वविद्यालयमा पढ्नको लागि प्रस्थान गरेँ । त्यहाँका १२ जना प्रोफसरले फिजिक्स तथा केमेष्ट्रिका विभिन्न विधामा नोवेल परस्कार प्राप्त गरेका छन् ।
हाम्रो घर–घरमा अहिले हेरिने टेलिभिजनको आविष्कारक हर्मन हर्टज नि कुनैबेला यसै विश्वविद्यालयका प्रोफसर थिए । वास्तवमा जर्मनीमा यस्ता धरैे वैज्ञानिकहरु छन् जसले विश्वलाई केही दिएर यस धर्तीमा नाम उच्च राख्दै बिदा भएका छन् । यसमध्येका अग्रणीमा अल्वर्ट आइन्सटाइन पनि पर्दछन् । यस विश्वविद्यालयमा अध्ययनको लागि जाँदा ममा बेग्लै अनुभूति भएको थियो । विश्वका विभिन्न देशबाट छनौट भएर आएका व्यक्तिहरुसँग जमघटमा भएको मेरो अनुभव र अनुभूतिको मैले व्याख्या गर्न नै सक्तिन ।
यसरी सन् २००७ को अन्ततिर मेरा व्याचका सबै विद्यार्थीहरुलाई पछाडि पार्दै समयभित्र नै उत्कृष्ट अङ्कका साथ अध्ययन पूरा गरी म नेपाल फर्के । अर्कोतिर मैले गरेको सोधकार्य उत्कृष्ट भएकोले विश्वविद्यालय अवार्ड पनि पाउँन सफल भए । प्रोफेसरले त्यही बसेर एजम् सकी त्यहीँ अध्ययन अनुसन्धानमा लाग्न सल्लाह दिँदादिँदै पनि आफूले जानेको कुरा आफ्नो मातृभूमी नेपालमा नै प्रयोग गर्ने दृढ इच्छा भएकोले नेपाल फर्केको हुँ ।
नेपाल फर्केपछि आफ्नो कार्यक्षेत्रमा नै तल्लीन भएर काममा लागियो । विभिन्न गैरसरकारी संस्थासँगको आवद्धतालाई समेत कायम राख्दै नेपाल सरकारको सेवामा तल्लीन रहेँ । यसै बीचमा सन् २०११ मा फेरी नेदरल्याण्ड सरकारको छात्रवृत्तिमा एक महिनाको Decentralized Water Supply and Sanitation अध्ययन तालीमको लागि नेदरल्याण्डस्थित UNESCO IHE Delft मा जाने मौका मिल्यो, त्यहाँ विभिन्न प्रोफेसरहरुसँगको अन्तरक्रियाले मलाई विद्यावारीधी गर्ने साचेको विकास भयो । यसबीचमा फिनल्याण्ड सरकारको सहयोगमा पश्चिम नेपालका जिल्लाहरुमा सञ्चालित खानेपानी, सरसफाइ र स्वास्थ्यसम्वन्धी कार्यक्रममा ठूलो प्रतिष्पर्धाबाट खानेपानी सरसफाइ र स्वास्थ्य सल्लाहकारमा छनौट भए ।
पछि पर्वत जिल्लाको सल्लाहकारको रुपमा सन् २००९ देखि २०१२ को जुलाईसम्म काम गरेँ । कामगर्दा धेरैजसो गाउँमा खानेपानीको मूलमा समस्या कतै मूल सुकेको, घटेको हराएको अवस्था देखियो । साथै तहाँ रहेर कामगर्दा जिल्लाका सबै गाविसहरुमा खुला दिसामुक्त अभियान सञ्चालन गरियो । यस पश्चात् मैले विद्यावारीधीको लागि आफ्नो अवधारणा पत्र तयार गरेँ, जुन आफूले केही अनुभव हाँसिल गरेकोे खानेपानी र सरसफाइ क्षेत्र र जलवायू परिवर्तनको असरसँग सम्बन्धित थियो । जसका लागि केही फाउण्डेसन कोर्षहरु गर्न आवश्यक थियो । तसर्थ सन् २०१२ को सेप्टेम्वरमा पुनः जर्मन सरकारको छात्रवृत्तिमा एक महिनाको Water Resource Management and Climate Change Adaptation विषय अध्ययन तालिमको लागि जर्मनस्थित टेक्निकल युनिभर्सिटी अफ ड्रेस्डेन गएँ ।
विद्यावारिधी अध्ययन तथा खोज अनुसन्धानमा निरन्तरताको सिलसिलामा फेरी सन् २०१६ को अक्टोवरमा जर्मन सरकारको छात्रवृत्तिमा एक महिना Climate Change Mitigation and Adaptation विषयको अध्ययनका लागि विश्वविख्यात हम्होल्ड्ट विश्वविद्यालय बर्लिन जर्मनी जाने अवसर प्राप्त गरेँ, जहाँ विश्वविख्यात वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले सापेक्षतावादको सिद्धान्त प्रतिपादन गरेका थिए । तत्पश्चात् पुनः सन् २०१८ मा तीन महिनाका लागि विद्यावारिधी सोधकार्य सम्पन्न गर्न जर्मन सरकारकै छात्रवृत्तिमा जर्मनस्थित टेक्निकल विश्वविद्यालय डेटमोल्ड गएँ । यी सबै प्रयासबाट खानेपानी र सरसफाइमा क्षेत्रमा जलवायू परिवर्तनको असर विषयमा विद्यावारिधी गरेंँ जुन म जस्तो ग्रामीण परिवेशबाट आएको व्यक्तिका लागि ठूलो उपलव्धि ठानेको छुँ । अध्ययन सम्पन्न भएपश्चात् पनि यसै क्षेत्रसँग रहेर विभिन्न आयामहरुमा देशका लागि कुनै न कुनै माध्यमहरुबाट सेवा गरिहेको छुँ र गरिरहने नै छु ।

५. समग्रमा पश्चिम युरोप
विकासको दृष्टिबाट युरोपलाई नियाल्दा म मनमनै कक्षा १० मा भूगोल पढाउँदा तत्कालीन हेडसरले पेरिसदेखि लन्डनसम्म आन्ध्रमहासागर मुनि टनेलबाट रेल सेवा सञ्चालन गरेको भनेर पढाएको मलाई पेरिसको आइफल टावरमाथिवाट विश्वको सुन्दर सहर पेरिस नियाल्दा झलझली याद आएको थियो । गाउँको परिवेशमा जन्मेर हुर्केका हामीलाई अचम्म लाग्नु अस्वाभाविक पनि होईन ।
यसै सन्दर्भमा अहिले अवस्था र परिवेश फेरिएको छ, गाउँघरमा बत्ति बलेको छ । हात हातमा मोवाइल छ । बाटो बनेर गाडीको सुविधा छ । यो परिवेशमा अध्ययन गर्नु तथा हामीले अध्ययन गर्दाको परिवेशभन्दा धेरै फरक भईसकेका छ । अहिले आफूले रोजेका विषयहरु पढ्न मनग्ये विद्यालय तथा कलेजहरु पनि खुलेका छन् । तथापि चुनौतिहरु पनि थपिएका छन् । प्रविधिको गलत प्रयोगले दुर्घटना सिवाय केही निम्त्याउँदैन । यसर्थ प्रविधिको पनि राम्रो काममा मात्र प्रयोग गर्नुपर्ने हुन्छ । साथै आजको अत्यन्त प्रतिस्पर्धी समाजमा सबैखाले प्रतिस्पर्धामा खरो उत्रन सफल हुनुपर्छ । नैतिकताको संकट भईरहेको यस अवस्थामा नैतिकवान तथा चरित्रवान युवाशक्ति उत्पादन गर्न विद्यार्थी, शिक्षक तथा अविभावक सबैको उत्तिकै भूमिका रहेको हुन्छ । ‘आचार्य देवो भव’ भन्ने हाम्रो नीतिशास्त्रको कुरा दोहोर्याउँदा एउटा दूर्गम गाउँको मलाई यहाँसम्म पुग्ने मार्ग प्रशस्त गरिदिने मेरा अभिभावक तथा सम्पूर्ण गुरुहरुलाई पुनः श्रद्धापूर्वक शिर निहुर्याउँदै पश्चिम युरोपको आत्मसंस्मरण यात्राको यहीँ बिट मार्न चाहन्छु ।

(लेखक बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष हुनुहुन्छ । जलश्रोत र जलवायु परिवर्तनमा विद्यावारिधी (पीएचडी) गर्नुभएका उहाँले निजामती सेवाबाट स्वेच्छिक अवकाश लिई विभिन्न द्विपक्षीय तथा पहुपक्षीय गैरसरकारी संस्थाहरुमा परामर्शदाताको रुपमा समेत कार्य गरिसक्नुभएको छ ।)




