खासकुरा संवाददाता
हेटौँडा, जेठ ५ गते ।
आइतबार राति परेको वर्षाको कारण डाईभर्सन बगाएपछि अवरुद्ध बनेको कान्ति लोकपथ एकतर्फी रुपमा सुचारुभएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले अवरुद्ध रहेको कान्ति लोकपथ सोमबार बिहानः ७४५ बाट एकतर्फी रुपमा सुचारु गरिएको जानकारी दिनुभयो ।

कान्ति लोकपथ सडकखण्डको बगुवास्थितमा निर्माणाधीन पुलबाट साना सवारी साधनलाई एकतर्फी आवजजावतको व्यवस्था मिलाएको छ उहाँले भन्नुभयो, अहिलेलाई कार, जिप, स्कारपियो र मोटरसाइकल मात्र चल्ने छन् । उहाँका अनुसार ठुला सवारी साधनलाई डाईभर्सन बाटो नबनुन्जेलसम्मको लागि आवतजावतमा रोक लगाएको छ ।

मकवानपुर भीमफेदी गाउँपालिका ८ र ललितपुर जिल्लाको बागमती गाउँपालिका २ बिचको सिमानामा रहेको कान्ति लोकपथ सडकखण्ड अन्तर्गत बगुवा खोलामा रहेको डाईभर्सनमा प्रयोग भएका ह्युमपाइपहरु बगाएपछि सडक अवरुद्ध भएको अर्यालले जानकारी दिनुभयो ।

बागमती पुल मर्मत कार्यको लागि खोलामा डाईभर्सन बनाइएको र पानीको बहाव एक्कासी बढ्न गई उक्त डाईभर्सनमा प्रयोग भएका ह्युमपाइपहरु बगाई बाटो अवरुद्ध सडक भएको हो उहाँले भन्नुभयो । उहाँका अनुसार सडक ममर्त कार्य भईरहेको छ ।
