खासकुरा संवाददाता
हेटौँडा, जेठ ५ गते ।
प्रहरीले रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २ स्थित रसुवागढीबाट सात केजीभन्दा बढी सुनसहित एक जना पक्राउ गरेको छ ।

चीनबाट नेपाल तर्फ आउँदै गरेको जिल्ला रसुवा गोसाईकुण्ड गाउँपालिका वडा नं.५ का किशोर कुमार भुजेलले चलाई ल्याएको बा ४ ख ६२०१ नम्बरको कन्टेनर डिब्बा गाडीबाट सात किलो ६५३ ग्राम सुनसहित चालक किशोर कुमार भुजेललाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।

चीनको केरुङ हुँदै रसुवागढी नाकाबाट स्याउको गाडीमा फल्स बटम बनाई लुकाएर ल्याएको भन्ने सुराकीको आधारमा खानतलासी गर्दा सुन बरामद भएको हो ।

उक्त कन्टेनर जाँच गर्ने क्रममा सो कन्टेनरको चालक भुजेलको साईडको ढोकाको भित्रतर्फ फल्स बटम बनाई सोभित्र कालो टेपले बेरेको अवस्थामा लुकाई छिपाई ल्याएको करिब सात किलो ६५३ ग्राम सुन जस्तो देखिने पहेँलो धातु फेला पारेको बागमती प्रदेश प्रहरी कार्यालयले, हेटौँडाले जनाएको छ ।

२४ वर्षीय निज कन्टेनर चालक भुजेललाई पँहेलो धातु र कन्टेनरसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
