हेटौँडा, साउन ११ गते । मकवानपुरको कैलाश गाउँपालिकामा भौगोलिक विकटता र सचेतनाको अभावमा घरमा नै सुत्केरी गराउने अवस्थाको अन्त्य गर्नु चुनौतीपूर्ण बन्दै आएको छ ।
घरमा नै सुत्केरी गराउँदा आमा र शिशुको स्वास्थ्य र जीवन जोखिमपूर्ण बन्दै आएपछि कैलाश गाउँपालिकाले पालिकामा केही वर्षयता होम डेलिभरी शून्य अभियाननै चलाएको छ ।

होम डेलिभरी शून्य अभियान सञ्चालन गरेपछि पालिकाका स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी आफैँले पनि बोकेर गर्भवती महिलालाई सुत्केरी गराउन स्वास्थ्य संस्थामा लैजाने गरेको धेरै उदाहरण छन् ।
यस्तै घरमानै सुत्केरी गराउँदा आमा र शिशुको स्वास्थ्यमा जोखिम हुने भएपछि मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ७ ताम्लाङस्थित ङिको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले स्ट्रेचरमा बोकेर स्वास्थ्यचौकीमा सुत्केरी गराएका छन् ।
ङिको स्वास्थ्य चौकीका अहेब बबिता प्रजा र अनमी सनम चौधरीले स्थानीयसँगको समन्वयमा गत बिहीबार आफैँले स्ट्रेचरमा बोकेर स्वास्थ्य चौकीबाट एक घण्टाको दुरीमा रहेको कैलाश गाउँपालिका वडा नं. ७ स्थित भारवाङकी एक गर्भवती महिलालाई स्वास्थ्य चौकीमा ल्याएर सुत्केरी गराउनुभएको हो ।

स्वास्थ्य चौकीका अहेब बबिता प्रजाले गर्भवती मीना शाही चेपाङलाई गारो भएको खबर आएपछि आफूहरु गएर स्ट्रेचरमा बोकेर ल्याएर सुत्केरी गराएर पठाएको बताउनुभयो ।
२१ वर्षीया मीनाको परिवारबाट घरमा कोही पनि छैनन् स्वास्थ्य संस्थासम्म पु¥याउन, गर्भवतीलाई गारो भइसक्यो, घरमानै सुत्केरी गराउने हो, स्वास्थ्यकर्मी आउनु प¥यो भनेर बिहीबार बिहानै फोन आयो बबिताले भन्नुभयो, घरमा सुत्केरी गराउँदा आमा र शिशु दुवैलाई जोखिम हुन्छ, स्वास्थ्य संस्थामा नै सुत्केरी गराउनु पर्छ हामीले भन्यौँ । उहाँले अगाडि भन्नुभयो, मीनाका परिवारका सदस्यले सुरुमा बोकेर स्वास्थ्य चौकी पु¥याउन घरमा कोही नभएको भन्दै आनाकानी गर्नुभयो, उता मीनालाई गारो भएको खबर थियो, हामी तपाईहरु घरबाट हिड्दै गर्नुस् हामी आउँछौ भनेर स्ट्रेचर लिएर गयौँ र आफैँले स्ट्रेचरमा बोकेर ल्याएर सुत्केरी गराएर पठायौ । अहेब बबिताका अनुसार मीनाको पहिलो सन्तान छोरा भएको छ, शून्य होम डेलिभरीको अवधारणा अनुसार स्वास्थ्य संस्थामा सुत्केरी गराएकोले आमा र शिशुको स्वास्थ्य अवस्था राम्रो छ ।
कैलाश गाउँपालिका वडा नं. ७ पालिकामा सबैभन्दा बढी घरमा नै सुत्केरी गराउने वडाहरुमध्येको एक हो । वडाध्यक्ष उदाश तामाङले वडासँगै गाउँपालिकाका होम डेलिभरी शून्य अभियान सञ्चालनमा रहेको बताउँदै अभियानले आमा र शिशुको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सहयोग पु¥याएको बताउनुभयो ।
गर्भवती महिलालाई पोषक सामाग्रीसँगै सुत्केरी गराउन जाँदा एम्बुलेन्स सेवा निःशुल्कको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

यस्तै गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले होम डेलिभरीको अवस्था शून्यमा झार्न पालिकाले गर्भवती महिलालाई लक्षित गरी प्रोत्साहन र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
अहेब बबिताले चेतनाको अभावमा घरमानै असुरक्षित सुत्केरी गराउने प्रचलन गाउँघरमा अझै रहेकोले त्यसलाई चिर्नु चुनौती पूर्ण रहेको बताउनुभयो ।
