हेटौँडा, कात्तिक २९ गते । मुगु जिल्लाको छायानाँथ रारा नगरपालिका –७ टोप्ला स्थित ताल्चा रारा कच्ची सडक खण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको हाईलक्स जिप दुर्घटना हुँदा ३ जना मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
आइतबार रारा कच्ची सडक खण्डमा बा १७ च १८६४ नम्बरको हाईलक्स गाडी अचानक सडकबाट अन्दाजी ६०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

उक्त जिप ललितपुर महानगरपालिका–१५ बस्ने ५८ वर्षीय कञ्चन थापाले चलाएका थिए ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायव उपरीक्षक रविराज थपलियाको कमान्डमा १० जना र बी.सु. गार्ड ताल्चाबाट प्रहरी नायव निरीक्षक डम्बरबहादुर अधिकारीको कमान्डमा ७ जना गरी १७ जनाको प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मुगु पठाएको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा काठमाडौँ जिल्ला कलंकी बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका छन् ।

दुर्घटनामा परेका उनीहरु तीनै जनालाई जिल्ला अस्पताल मुगु पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् । अन्य घाइते हरुको तत्काल सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
घाइते हुनेहरूमा ललितपुर महानगरपालिका–१५ बस्ने ५४ वर्षीया अन्जु थापा र चालक ललितपुर महानगरपालिका–१५ बस्ने ५८ वर्षीय कञ्चन थापा रहेका छन् ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ ।




