शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण बढाइने

लोकप्रिय

नारायणगढ, मंसिर १२ गते । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चितवनको कालिका नगरपालिकास्थित शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ ।

आज औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै उहाँले हालसम्मको कार्यप्रगति जानकारी लिनुभएको र अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।
औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो । चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो ।
देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ ।
औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न इच्छुक उद्योगीले विगत आठ वर्षदेखि जग्गा माग गर्दै चितवन उद्योग सङ्घको सचिवालयमा आवेदन दिँदै आएका छन् । सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ ।
शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ ।

ताजा समाचार

Related Articles