कान्ति लोकपथ १५ दिनका लागि बन्द हुने

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १२ गते ।
हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ वैशाखको तेस्रो साताबाट १५ दिनका लागि दिउँसो बन्द हुने भएको छ । उक्त सडक मर्मतका क्रममा यही वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन दैनिक छ घण्टा बन्द हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार कान्ति लोकपथमा १५ दिन बिहान १० बजेबाट साँझ ४ बजेसम्म सवारी आवागमन बन्द गरिनेभएको छ ।
कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै मकवानपुरको बकैया गाउँपालिकास्थित ठिगन–बगुवा सडक खण्डमा सडकको चौडाइ विस्तारको कार्य भइरहेको जनाएको छ ।
कार्यालयले सूचनामा भनेको ठिंगन–बगुवा सडक खण्ड अन्तर्गत गँगटे नजिकैको भ¥याङडाँडामा सडक चौडा गर्न चट्टान कटानको कार्य गरिने भएकाले वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म (१५ दिन) उक्त सडक खण्डमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म छ घण्टा यातायात आवागमन बन्द रहने छ ।
सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कंडेलद्वारा जारी सूचनामा सो अवधिमा हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने सवारी साधनहरूले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न भनिएको छ । कान्ति लोकपथ सडक आयोजना, चाकुपाट, ललितपुरले निर्माण कम्पनी मार्फत बकैया गाउँपालिकास्थित ठिंगन–बगुवा सडक खण्डमा सडक चौडाई गर्ने कार्य भईरहेको छ ।

ताजा समाचार

Related Articles