खासकुरा संवाददाता
हेटौँडा, वैशाख १२ गते । हेटौँडा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा स्वास्थ्य सेवा लिन पुगेका सर्वसाधारण नागरिकले सास्ती खेप्नु परेको छ ।
नेपाल चिकित्सक सङ्घको आव्हानमा शुक्रबार गरेको आन्दोलनका कारण हेटौँडा अस्पतालमा सेवा लिन पुगेका नागरिक यसै फर्कनु परेको हो ।
बागमती प्रदेश सरकार मातहतमा रहेको सो अस्पतालमा आकस्मिक तथा सघन उपचार सेवाबाहेक सबै सेवा ठप्प गर्दा नागरिक सामान्य स्वास्थ्य सेवाबाट वञ्चितभएका हुन् ।
मकवानपुरको कैलाश गाउँपालिकाको नामटारबाट उपचारका लागि हेटौँडा अस्पताल आउनुभएका वीरमान मोक्तान जस्तै ग्रामीण क्षेत्रबाट आएका धेरै नागरिक उपचारका लागि अस्पताल आएर यसै फर्कन बाध्यभएका थिए ।
उपचारका लागि आउनुभएका मोक्तान अस्पतालमा चिकित्सक नभेटिएपछि निराश देखिनुभएको थियो ।
स्वास्थ्य समस्या भएर असहज भएपछि उपचारका लागि गाउँबाट खर्च गरेर आए उहाँले भन्नुभयो, अस्पतालमा उपचारका लागि आउँदा ओपिडी सेवा बन्द रहेछ, उपचार पाउन सकिन अब यसै फर्कनु पर्ने भयो ।
अस्पतालको टिकट काट्ने कक्ष सुनसान रहेको थियो । ओपिडीका चिकित्सकका सबै कक्षमा ताला झुण्ड्याइएको छ । अस्पतालमा सेवा लिन दूरदराजबाट आएका बिरामी यसै फर्कन बाध्य छन् ।
वीरमान जस्तै हेटौँडा उपमहानगरपालिका १८ हर्नामाडीकी सावित्री महतले ओपिडी सेवा बन्द हुँदा उपचारबाट वञ्चित हुनु परेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । यो घाममा उपचार सेवाका लागि आए तर अब उपचार बिना नै फर्कनुपर्ने भो उहाँले भन्नुभयो ।
घरबाट अस्पताल आउँदा र जाँदाको तीन सयक रुपियाँ तिर्नु पर्छ उहाँले भन्नुभयो स्वास्थ्य समस्या भएर आएको अस्पताल त सुनसान रहेछ ।
यस्तै हेटौँडा उपमहानगरपालिका १३ पदमपोखरीका कृष्णप्रसाद दाहालले उपचारका लागि आउँदा ओपिडी सेवा बन्द गरेकोले यसै फर्कनुपर्ने अवस्था आएको भन्दै यो नागरिकप्रति गरिने गैरजिम्मेवारीभएको बताउनुभयो । स्वास्थ्य उपचारका लागि आएका नागरिकलाई सास्ती दिने काम भयो उहाँले भन्नुभयो, आन्दोलन नै गरेपनि सबैले सेवा बन्द गरेर जानु र नागरिकलाई सेवाबाट विमुख गरिनु ठीक भएन ।
हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भीमसागर गुरागाईँले सम्पूर्ण रुपमा सेवा बन्द नगर्ने भनिएपनि आकस्मिक बाहेका सेवा बन्द हुँदा अस्पतालको सेवा प्रभावित बनेको बताउनुभयो ।
सङ्घको आव्हानमा विभिन्न माग राखेर शुक्रबार सबै सरकारी अस्पताललगायतको आकस्मिक बाहेकका स्वास्थ्य बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।




